+
Search

ताजा अपडेट +

पपुलर +

दलाई लामाका प्रतिनिधि भन्दै अध्यागमनबाटै फर्काइए अमेरिकी नागरिक !

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०७:०६ बजे

काठमाडौं- अध्यागमनले दलाई लामाका प्रतिनिधि भन्दै तिब्बतीमूलका एक जना अमेरिकी नागरिकलाई फिर्ता पठाएको छ।

भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा पेम्बा छिरिङ ‘इन्ट्री रिफ्युज’ गरे पनि उनी त्यही नामको अर्कै व्यक्ति भएको बुझिएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए।

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए।

तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ।

उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो।

अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो ।

अध्यागमन स्रोतका अनुसार पेन्पाले आफू काठमाडौंमा पुराना साथी भेट्न आएको अध्यागमन अधिकारीलाई बताएका थिए ।

प्रहरी स्रोतले भने काठमाडौंको कपनलगायतका केही स्थानमा फ्रि तिब्बतसम्बन्धी कार्यक्रम हुन लागेको र त्यसमा पेन्पा सहभागी हुन आएको आशंका गरेको छ।

सामान्यतया इन्ट्री रिफ्युज गर्दा प्रवेश नदिनुको कारण खुलाई पत्र दिएर जुन देशबाट आएको हो, सोही देश फर्काउने नियम छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily