+
Search

ताजा अपडेट +

पपुलर +

मधेस–पहाड जोड्ने सम्भावना

4KNationalDaily
२०७६ जेष्ठ २९, बुधबार १८:४६ बजे

समानता, न्याय र पहिचानको लामो लडाइँ लडेर यहाँसम्म आएको नेपाली समाजमा यो वा त्यो बहानामा अझै पनि वर्ण, जात, लिंग र भूगोलका आधारमा गरिने विभेद सतहमै छ ।

यही वेला नयाँ शक्ति नेपाल र समाजवादी फोरमको एकताले अहिले नै के कस्ता प्रभाव पार्छ भनेर टिप्पणी गर्नु अलि हतारो गरेको ठहरिएला ।

दुई दशकभन्दा बढी समय खर्चेर हुर्काएको पार्टीलाई ‘रातो स्टिकर टाँसेको घर’ भनी नयाँ यात्रामा निक्लिएका डा.बाबुराम केही वर्षमै किन ‘घुमीफिरी रुम्झाटार’ फर्के भन्ने प्रश्नको सही उत्तर उनीबाहेक कोसँग होला र ? तर, सत्ताले सधैँ उपेक्षा गरेको भनिएको समुदायका उपेन्द्र यादवलाई कार्यकारी हैसियत दिएर थालेको नयाँ यात्राले पहाड—मधेस जोड्ने कडी बन्नेछ भन्नेमा उनी विश्वस्त देखिन्छन् ।

क्रान्तिकारी कित्ता आफूसँग रहेको र अवसरवादी कित्ता सत्तामा रहेकाले जनताले विकास महसुस गर्न नसकेको दाबी गर्ने बाबुरामले एकताबाट बनेको दल चाँडै सत्तामा पुग्ने घोषणा पनि गरेका छन् ।

विनाबर्दीका सिपाही भएर सिमानाको रक्षा गरिरहेका मधेसी समुदायलाई छालाको आधारमा तिनको राष्ट्रियतामा शंका गर्ने जमातको यो देश र विशेष गरी सत्तामा बस्नेहरूमा कुनै कमी छैन ।

अझै तिनकै बफादारीमा शंका गर्नेचाहिँ राष्ट्रवादी रे ! मधेसीलाई अधिकार दिने सवाल आउनेबित्तिकै राष्ट्रवादको हाउगुजीले तर्सिहाल्ने मानसिकताले मधेस–पहाडलाई भावनात्मक रूपमा जोड्न दिएको छैन । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भनेर भट्याउने, तर एकल जात, एकल भाषा, एकल संस्कृतिलाई राष्ट्रको प्रतीक मानेर अरूको बफादारीमा शंका गर्ने प्रवृत्तिले मधेसको मन दुखेको छ ।

बाबुराम–उपेन्द्रको जोडीले सायद जनताको यही भावना बुझेर देश बनाउलान् भन्ने आशा गर्न सकिन्छ । यस्तै असल सोचले पार्टी एकता गरेका हुन् भने नेपाली राजनीतिमा एक सुखद् खुट्किलो हुनेछ । तर, दुवैको विगतले सुखद् भविष्यको कल्पनाको आशासम्म गर्न सकिन्छ, भर गर्न सकिन्न

कुनै पनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुअघि देखाइएका सपना आन्दोलनकै बलबाट सत्तामा पुगेपछि के–कति पूरा गर्छन् वा पूरा गराउन प्रयत्नशील रहन्छन् भन्ने तथ्यले निर्भर गर्छ । जनयुद्धको जगमा हासिल भएको भनिएका उपलब्धिलाई तराजुको एउटा पल्लामा राखेर त्यबगाएको ।

सत्ताका लागि जनताले आँसु, दिइएका यातना र चढाइएको रगतसँगै बीजारोपण भएको भयावह सामाजिक विग्रहलाई अर्को पल्लामा राख्दा  कसको पल्लाभारी होला ? आफ्नै हातले लेखेका ४० बुँदेको अवसान कसरी गराइयो भन्ने हेक्का राखेका नेपाली जनताले बाबुरामको आगामी यात्रालाई कसरी विश्वास गरिहाल्ने ?

मधेसीलाई अधिकार दिने सवाल आउनेबित्तिकै राष्ट्रवादको हाउगुजीले तर्सिहाल्ने मानसिकताले मधेस–पहाडलाई भावनात्मक रूपमा जोड्न दिएको छैन

अर्कातिर, पहिचानको मुद्दालाई जोडतोडले उठाएर कैयौँ गरिब मधेसी जनताको रगत बगाएका उपेन्द्रले यसबीच आफ्ना के–कति वाचा पूरा गरे भन्नेबारे जनता जानकार छन् । समावेशी र समानताको नाराको जननी दाबी गर्ने उनले पार्टीलाई समावेशी बनाउन भने कहिल्यै सकेनन् ।

उनको पार्टीमा मधेसका सबै जातजातिको उपस्थिति कहाँ थियो र ? आफूले सक्ने ठाउँमा नगर्ने, तर एकोहोरो अरूतिर औँला मात्र ठड्याएर भोट तान्ने प्रवृत्ति अब पुरानो भयो । आफैँ सरकारको एक हिस्सा हुने, तर त्यही सरकारविरुद्ध आन्दोलन चर्काउने कुराले नेतृत्वको दोभाषे चरित्र देखिन्छ, जनतामा अविश्वास पैदा गर्छ ।

बाबुराम र उपेन्द्र राजनीतिका तुलानात्मक रूपले अग्रगामी सोच भएका, तर संसदीय राजनीतिको रस चुस्ने बानी परेका खेलाडी हुन् । जनयुद्ध र मधेस आन्दोलनका सहिद र घाइतेलाई न्याय दिलाउने सन्दर्भमा यिनको गैरजिम्मेवारी अनि आफैँले उठाएको मुद्दामा निष्क्रियताले उनीहरूलाई फेरि विश्वास गरिहाल्ने वातावरण बनाउँदैन ।

तर, पहाड मधेसको नाममा एकोहोरो रोटी सेकाएर सधैँभरि भोट तानिराख्ने अधिकांश दललाई माथ दिएर यी दुवै आफ्नो सुरक्षित घेराबाहिर आएका छन् । क्षेत्रीय नेताबाट राष्ट्रिय नेता बन्ने उपेन्द्रको महत्वाकांक्षा अनि पहाड—मधेसको साझा नेता बन्ने बाबुरामको अर्जुनदृष्टि उनीहरूले आगामी दिनमा लिने कार्यदिशा र देखाउने व्यवहारले फैसला गर्छ । आफू कहिल्यै नबदलिने, तर देश बदल्छु भनेर भन्न नथाक्ने नेता बनेर उही पुरानो ‘सटर’ खोल्ने मनसायले मूर्त रूप लिँदैन ।

नयाँपत्रिका प्रकाशित

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily