+
Search

ताजा अपडेट +

पपुलर +

बम विस्फोटमा मर्नेहरु ‘सर्वसाधारण’ होइनन्, विप्लव निकट हुन् : गृहमन्त्री थापा

4KNationalDaily
२०७६ जेष्ठ १३, सोमबार १४:४२ बजे

काठमाडौ– हिजो काठमाडौंमा भएका बम विस्फोटनका घटनामा ४ जनाको मृत्यु भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जानकारी गराएका छन्।

प्रतिनिधिसभाको वैठकमा बोल्दै गृहमन्त्री थापाले मृत्यु भएका र घटनामा घाइते हुनेहरु प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव निकट भएको दाबी गरे।

‘विप्लव नेकपा समूहले संविधान र राज्य व्यवस्था विपरीत काम गर्दै आएको छ,’ उनले भने, ‘यो कार्य संविधान र शान्तिविरोधी हो।’

सरकारको सुरक्षा र सूचना संयन्त्रलाई चुनौती दिँदै उपत्यकाका अधिकांश ठाउँमा विस्फोट भएपछि गृहमन्त्री थापाले सदनमा जवाफ दिँदै ‘यहाँ कुनै अन्य सर्वसाधारण नागरिक नभई यो समूहसँग सम्बन्धित’ भएको दाबी गरे।

‘विप्लव निकट समूहले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन्। जनसेना चलाउन चार कम्पनी खडा गरेका छन्। यो सब गर्न नेकपा नामको पार्टी गठन गरेका छन्,’ उनले भने।

केही वर्षदेखि सशस्त्र र गैरकानुनी गतिविधि उनीहरुले गर्दै आएका भन्दै गृहमन्त्रीले स्थानीय, प्रदेश र संघीय चुनावामा पनि नेकपाले संविधानविपरीत कार्य गरेको दाबी गरे। ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दै एनसेलको टावर र अन्य ठाउँठाउँमा विस्फोट गरेकै देखिएको छ, हिजो मात्र देशव्यापी रुपमा यस्तो काम उनीहरुले गरे,’ उनले भने।

विप्लव समूहको अहिलेको मूल निसाना उपत्यकामा भएको भन्दै गृहमन्त्री थापाले सुरक्षा व्यवस्था थप बजबुत पारेको सदनमा जानकारी गराए। हिजोको घटनामा परी चार जनाको मृत्यु भएको र आधा दर्जन घाइते भएको जानकारी गराउँदै उनीहरुको उपचार भइरहेको उनले जानकारी गराए।

‘बम विस्फोटमा पनि सर्वसाधारण नागरिकको मृत्यु भएको छैन, नेकपासँग सम्वन्धित छन्,’ उनले भने, ‘घाइते पनि उनीहरुसँग संलग्न रहेका छन्।’ सरकारले घटनामा संलग्न कसैलाई नछोड्ने उनको भनाइ छ।

‘सुरक्षा व्यवस्था मजबुत’

गृहमन्त्री थापाले नेकपाको बन्द जनस्तरबाटै खारेज भएको दाबी गर्दै उपत्यकामा शान्ति सुरक्षा मजबुत भएको दाबी गरे।

हिजो बुढानिलकण्ठको ढलाने पुल नजिक महोत्तरीका जिउ कुमार ठाकुरको भान्छामा विस्फोटन हुँदा एक जनाको घटनास्थलमा र २ जनाको अस्पतालमा मृत्यु भएको पनि उनले जानकारी गराए।

कपन मिलनचोकका हरि खड्का, सुरेन्द्र महर्जन र नाम नखुलेका घाइतेको ओम अस्पताल उपचार भइरहेको र छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको थापाले जानकारी गराए।

घटनास्थलबाट बजाज कम्पनीको मोटरसाइकल बरामद भएको छ। मैतीदेवी संगम मार्गमा भएको विस्फोटनमा परी प्रज्वल शाही विशालको मृत्यु भएको गृहमन्त्री थापाले जानकारी गराए। सोही घटनामा परी घाइते रुकुमका रविन केसीको उपचार भइरहेको छ।

यस्तै चन्द्रागिरी नगरपालिकास्थित इँटाभट्टामा प्रेसर कुकुर बम विस्फोटन भएको र उक्त क्षेत्रबाट डिस्कभर बाइक बरामद भएको उनले जानकारी गराए। घाइते भेटिएका बुद्ध लामा र विक्रम लामाको उपचार भइरहेको छ।

दाउन्नेमा सिमेन्ट लोड गरेको ट्रकमा नेकपाका कार्यकर्ताले पेट्रोल बम हानेको र बस चालक अमर विक घाइते भएको उनले जानकारी गराए।

गैरकानुनी क्रियाकलाप सञ्चालन गरेको अभियोगमा काठमाडौं नरेफाँटमा बुद्धिबहादुर सुनारको कोठाबाट प्रेसर कुकर ४ र बाँसको भाटा १ बोरा र नेकपा विप्लवको पर्सा सहित ७ जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

काठमाडौं, सर्लाही, मकवानपुर, भक्तपुर लगायत जिल्लामा शंकास्पद वस्तु भेटिएकाले निष्क्रिय पारिएको उनले बताए। सबै घटनाको अनुसन्धान गरी सबैलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

राज्यले यस्ता कार्य नियन्त्रण गर्ने र वार्ता मार्फत मूल प्रक्रियामा ल्याउने प्रयासमा सरकार रहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily