+
Search

ताजा अपडेट +

पपुलर +

बिप्लव माओवादीको बन्द: कहाँ कहाँ के भयो ?

4KNationalDaily
२०७६ जेष्ठ १३, सोमबार १२:०१ बजे

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले देश गणतन्त्र दिवस मनाउने संघारमा उभिरहदा नेपाल बन्दको नाउँमा देशभर बम विष्फोट र आगजनी गर्दा जनमानसमा त्रास र आतंक फैलिएको छ   ।

नेकपा विप्लव समुहका कार्यकर्ताले आइतबार अपरान्हदेखि नै आफ्नो तयारीलाई ‘फुल भर्सन’मा प्रयोग गरेको देखिन्छ । जसले ४ जनाको ज्यान लियो भने आधा दर्जन घाईते बने । उपत्यकाको विभिन्न स्थानमा बम विष्फोट भयो ।

यद्यपी उक्त विष्फोट विप्लव कार्यकर्ताले टाइमर मिलाउन नसक्दा नोक्सानी समेत व्यहोरेको छ । कार्यकर्ता आफैं घाईते हुन पुगेको उक्त बम विष्फोटले कमजोर तालिम अप्रयाप्त कार्यकर्तालाई बमको भारी बोकाएर पठाउँदा हुन पुगेको नोक्सानीको रुपमा बुझिएको छ ।

यस्तै आज विहानैदेखि नेपाल बन्द भन्दै उनीहरुले देशभरका यात्रुबहाक बस तथा मालबाहक सवारीलाई मनोबैंज्ञानिक त्रास दिएका छन् । देशभरका कतिपय स्थानमा सवारी जलाएका छन् । विप्लव कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । पेट्रोल छरेर गरिएको आगजनीमा पूर्णत बस ध्वस्त बनेको छ ।

यस्तै गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई पनि विप्लवका कार्यकर्ताले आज बिहानै गोचेखोलामा आगजनी गरे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

त्यस्तै, काठमाडौंकै नागढुंगा,चन्द्रागिरी, ललितपुरको लगनखेल बसपार्क, ग्वार्को लगायतका स्थानमा बम भेटिनुका साथै विष्फोट समेत भएको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको भएपनि प्रहरीले विप्लव समूहको हात रहेको दाबी गरेको छ । मसाल जुलुसको तयारी गरिरहेका विप्लव कार्यकर्ता ७ जना पक्राउ परे । उनीहरुबाट ४ थान कुकरसहित १५ सय थानभन्दा बढी पर्चा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बन्दको आँशिक प्रभाव

नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आँशिक प्रभाव परेको छ । बन्दको कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् ।

जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को सिमानामा पर्ने पहडगछस्थित सडकको पूर्वतर्फ बिजुलीको खम्बा नजिक शङ्कास्पद् वस्तु फेला परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो । प्रेसरकुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशङ्का छ ।

आज बिहान प्रातः भ्रमणमा निस्केका स्थानीयवासीले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ । बम पहिचान गर्ने नेपाली सेनाका डिस्पोजल टोली आइनसकेको र अहिले सो क्षेत्रमा मानिसको भीड लागेको छ ।

दुईवटा ट्रकमा आगजनी

मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।
हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उहाँले बताउनुभयो ।

आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।

नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।

ट्रकमा आगजनी,चालक घाइते

नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

के भयो गृहमन्त्रीको आकस्मिक बैठकमा

गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बस्यो । गृहमन्त्री राम बहादुर थापाले सुरक्षाकर्मीलाई कडा निगरानी राख्न निर्देशन समेत दिएका छन् । राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि बैठकमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily