गोरखा- चुमनुब्री गाउँपालिका २ स्योका ३२ वर्षिय टासिदोर्जे लामाको हेलिकप्टर कुदाकुर्दै गत फागुनमा ज्यान गयो । घरबाट लडेर घाईते भएका उनलाई उपचारका लागि परिवारले हेलिकप्टर चार्टर गरे ।
फागुन ८ गते बुधवार राती लडेर घाईते भएका उनलाई उपचार गर्न लैजान हेलिकप्टर चार्टर प्रक्रिया पुरा गर्न बिहिवार पुरै दिन लाग्यो । शुक्रवार बिहान सात बजे हेलिकप्टर आउने निधो भयो ।
दुई लाख १० हजार तिरेर हेलिकप्टर पक्का त भयो तर हेलिकप्टर आईपुग्ने समय भन्दा ३० मिनेट अगाढी शुक्रवार बिहान साँढे ६ बजे उनको मृत्यू भयो ।
दुई महिना अघिको यो घटना उत्तरी गोरखाका लागि थुप्रै मध्येको एक हो । यस अघिका वर्षहरुमा पनि वर्षेनी उद्धारमा ढिलाईले उत्तरी गोरखामा सर्वसाधारणले ज्यान गुमाईरहेका छन् । दुर्गम भेग भएका कारण केही थाहा हुन्छ कतिपय गुपचुप रहन्छन् ।
सामागाउँदेखि नजिकको स्वास्थ्य चौकी बाहेकको उपचार गर्ने ठाउँ आरुघाट बजार हो । त्यहाँ सम्म बिरामी ल्याउन पाँच दिन पैदल हिड्नुपर्छ ।
जटिल रोग र चोटपटक लाग्यो भने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीय (आर्थिक अवस्था बलियो हुने) हरुले हेलिकप्टर चार्टर गर्छन । कमजोर अवस्थाहुनेहरु बोकेर कि यसै रोग पालेर बस्छन् ।
‘पैसा हुनेहरुले पनि सेवा पाएनन’ तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने ‘ऋण खोजेर पनि तत्काल रकम जम्मा गर्नुपर्छ, पैसा जुटायो, हेलिकप्टर आउँदैन ।’
सडक संजाल नजोडिएको दुर्गम गाउँमा घटना भएलगत्तै पैसा जुटाउन, हेलिकप्टर कम्पनीमा तत्काल पठाउन समस्या हुने गुनासो स्थानीयको छ । पैसा जम्मा नगर्दा सम्म हेलिकप्टर उँड्दैन । बिरामी लिन, उद्धारका लागि जाने हेलिकप्टरले पनि गृहमन्त्रालयबाट अनुमती लिएर सबै प्रक्रिया पुरा गर्नुपर्छ ।
गृह मन्त्रालयपछि जिल्ला प्रशासन कार्यालयबाट समेत अुनमती लिएर हेलिकप्टर उड्छ । जिल्लाका प्रमुखलाई संका लागेमा हेलिकप्टर सदरमुकाम सम्म बोलाएर एक जना प्रहरी वा सरकारी अधिकृत राखेर पठाउने गरिन्छ ।
चुमनुब्री हेलिकप्टर सर्भिस भन्ने समिति बनाएर सामागाउँ घर भएका काठमाण्डौँ बस्नेहरुले उद्धारमा सहयोग गरिरहेका छन् ।
उत्तरी गोरखामा हेलिकप्टर पठाउन सहयोग गर्दै आएका समिति अध्यक्ष धावा ग्याल्जेन लामा भन्छन् ‘कागजात मिलाउँदा मिलाउँदै बिरामीको ज्यान जान्छ, खतरा भईसकेको हुन्छ, अन्तिम अवस्था नआउँदा र जटिल नभई लाखौँ रुपैयाँ खर्च गरेर हेलि चार्टर गर्न आँट हुँदैन’ उनले भने ।
हेलिचार्टर प्रक्रियालाई अवस्था अनुसार लचिलो र छुट्टै किसिमले छिटो सेवा दिन सक्ने गरी निग्रानी राख्नुपर्ने बताउँछन् । जिल्ला प्रशासन कार्यालयले तिब्बत सँग खुल्ला सिमाना भएकाले चोरी निकासी हुन सक्ने भन्दै हेलिकप्टर उडानलाई कडाई गरेको हो ।
प्रतिक्रिया