नेपालमा रहेका ७७ जिल्लाहरूमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ८ जिल्लाहरू र हाल गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्व बोकेको जिल्ला हो।
११ स्थानीय निकाय अर्थात् २ नगरपालिका र ९ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रूपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छ। यो जिल्लाले ३ हजार ६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
समुद्र सतहबाट २२८ मिटर देखि ८ हजार १६३ मिटर उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शीतोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ।
भिडियाे
राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।
यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५ लाख ००२० र पुरुष १२ लाख १ हजार ०४१ गरी गोरखा जिल्लाको जम्मा जनसङ्ख्या २७ लाख १०६१ रहेको छ।
गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा, मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा, कल्छुमन ताल, कालाताल, नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरू मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु र विभिन्न कोटहरू, गुम्बाहरू तथा गुफाहरू यहाँका मुख्य आकर्षणहरू हुन् ।
नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे ।
भिडियाे
लिगलिग कोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिन सम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्त्वाकाङ्क्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाई रहेका थिए ।
द्रव्य शाहका सैनिकहरू थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।
द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरू पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वी पति शाह र नर भूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नर भूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रूपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो ।
भिडियाे
तत्कालीन अवस्थामा नेपाल बाईसी, चौबिसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरूबिच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो । भने अर्का तिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरूको आँखा नेपालमा परेको थियो ।
पृथ्वीनारायण शाह सानैदेखि दूरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरूलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दीक्षा दिइएको थियो । पिताको शासनकालमा उनले राज्य सञ्चालन गतिविधिबारे नियालेर सूक्ष्म अध्ययन गरेका थिए । वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफल्ने एक मात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स-साना राज्यहरूलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए ।
तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा कीर्तिपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाडौँ बनाए ।
त्यसपछि उनका वंशज खास गरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरूपमा ल्याए ।
भिडियाे
यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरू वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरूले पुऱ्याएकाे ठुलो योगदान एवं नेपाल अंग्रेजबीज वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरूले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अङ्ग्रेजहरूले भारतमा नेपालीहरूलाई भर्ती गराए ।
पहिलो र दोस्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरूको वीरगतिको कदर गर्दै जर्मन सम्राट् कैजार विलियमले ‘म मेरा सैनिकहरूलाई संसारका कुनै सेनासँग लडाउन रत्तीभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।’ भनेका छन् भने बेलायतकी महारानी एलिजवेथ तृतीयाले ‘गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन्’ भनेकी छिन् ।
भिडियाे
गोरखावासीहरूका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम ‘गोरखा’ रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ ।
यो जिल्ला अन्तरत घाँसका ठुला ठुला फाँटहरू/खर्कहरू छन् । लिच्छवीकलामा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।
यहाँको एक ठाउँमा सिद्ध पुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामकरण गरिएको मानिन्छ । यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ र घलेहरूको बस्तीले पर्यटकहरूलाई आकर्षण गरिहरेको छ ।
प्रतिक्रिया