+
Search

ताजा अपडेट +

पपुलर +

पोर्चुगलमा २ नेपालीमाथि दुर्व्यवहार र आक्रमण गर्ने ४ सैनिक पक्राउ

4KNationalDaily
२०७६ बैशाख २६, बिहीबार २२:४२ बजे

गणेश पाण्डेय

लिस्वन- पाेर्चुगलकाे विली नोआ डे मिलफन्टेसमा कृषि क्षेत्रमा काम गर्ने २ नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा ४ जिएनआर सैनिकहरूलाई पक्राउ गरिएकाे छ।

सन् २०१८ अक्टोबरमा भएकाे साे घटनालाई लिएर पाेर्चुगल सरकारको न्यायिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे।

एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा खटिएका ४ जिएनआर सैनिकहरूलाई अपहरण, आक्रमण तथा दुर्व्यवहारको अभियोगमा बुधबार बिहान पक्राउ गरिएकाे हो।

कृषि क्षेत्रमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बीचमा भएको विवादमा जिएनआर सैनिकहरुले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ।

नेपाली कामदार र कृषि माकिकको बीचमा विवाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारबाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरिएको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।

आप्रवासी नेपालीहरुको बासस्थान पत्ता लगाएर रातिको समयमा अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुर्व्यवहार गरेको र भौतिक आक्रमण गरेको उनीहरुमाथि आरोप लागेको छ।

सुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको बासस्थानमा गएता पनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत दुर्व्यवहार गरिएकाे बताइएकाेे छ।

न्यायिक प्रहरीले पिडित नेपालीहरु को-को थिए र कम्पनीका मालिक को हुन् भन्ने बारेमा केही खुलाएकाे छैन।

जिएनआरको ज्यादतिका सम्बन्धमा पीडितहरुले पोर्तुगलको न्यायिक प्रहरीमा उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा बुधबार मात्रै उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारबाहीका लागि बिहीबार ओदिमेरा अदालतमा उपस्थित गराइँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily