+
Search

ताजा अपडेट +

पपुलर +

‘नेपालको पानी, जनताको लगानी’ : तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने

4KNationalDaily
२०७६ बैशाख २०, शुक्रबार २०:५६ बजे

काठमाडौँ- ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ ।

सङ्घीय संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी गराएकी हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ । आम नेपालीको लगानीमा ऊर्जा उत्पादनलाई बढावा दिन त्यस्तो कार्यक्रम अगाडि सारिएको हो ।

सो कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री गरी सकिएको छ । तीमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको बिहीबार मात्रै साधारण शेयर बाँडफाँटसमेत गरिसकिएको छ ।

यस्तै आगामी आवभित्रै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने राष्ट्रपति भण्डारीले बताइन् । हाल सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

सबै नेपालीलाई स्वच्छ ऊर्जा पु-याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily