‘कर्म गर फलको आश नगर’ । आजको कलियूगमा यो भनाइको अर्थ बुझ्ने प्रयन्न कसले पो गर्छ र ? हामीले हाम्रो समाजको चित्र यस्तो बनायौं कि यहाँ ढौंगीहरु बढ्दाे समाजसेबी देखिन्छन् । कामभन्दा प्रचार गर्न लालायितलाइ हामी जयजकार गर्न हतारिन्छौ।
तर, हाम्रै समाजमा बसेर चुपचाप दिनदुखीको जीवनमा परिवर्तन ल्याउन अनवरत खटिरहने वास्तबिक योद्धालाइ हामी नदेखेझैं गरिदिन्छौं । तरपनि, उनीहरु निरन्तर आफ्नो कर्ममा लागिरहन्छन् । किनकी, उनीहरुमा प्रचारको भोक रत्तिभर हुन्न । किनकी, उनीहरुलाइ हेक्का छ, यो धर्तीमा आएर कोहि एकको जीवनमा परिवर्तन ल्याउनुपनि ठुलो कुरा हो ।
किनकी, कोहि साधरण मानिस बाँकी संसारका लागि कोहि नहुन सक्छ तर त्यसह मानिस कसै कसैका निम्ति सारा संसार हुन सक्छ । कुनाकन्दराको एक गरिब नेपालीका निम्ति फगत एक जनसंख्या होला तर त्यो परिवारका निम्ति उ सारा संसार हो ।
नन्दा कुलु ।
उनले सामान्य नेपालीको भन्दा कयौंबढी पीडादायी बाल्यकाल बिताइन् । शिक्षाको उज्यालो घामको ताप कहिल्यै पाइनन् । हाँसखेल गर्ने कलिलो उमेर उनको जीवनमा कहिल्यै आएन । उनले सानैमा दुख र आँसुको मूल्य बुझिन् । अनि, देखिन् सपना पनि ।
अब्दुल कलामले भनेका थिए, ‘सपना त्यो होइन जुन तिमीले निदाएको बेलामा देख्छौ,सपना त त्यो हो जसले तिमीलाइ निदाउन दिँदैन’ । बाल्यकालमा उनले यो भनाइ सुनिनन् होला तर उनले भोगेको नियतीले उनलाइ यो भनाइको तात्यर्यसँग एकाकार गरायो जरुर ।
उनको बाल्यकाल बित्दै गयो । उनको मिहिनेत अनि लगनशिलता बढ्दै गयो । अन्तत, समयले उनलाइ पुरस्किृत गर्न बाध्य भयो । उनको जीवनका आरोह सुरु भयो । तर, उनले आफ्नो धरातल कहिल्यै भुलिनन् । आखिर, फलेको बृक्ष ननुगेको कहाँ छ र?
‘मित्रता नेपाल फाउन्डेसन’- साहाराबिहिनको साझा घर । आजभन्दा सत्र बर्ष अघि उनको बाल्यकाल देखिको सोचले मृतरुप लियो । आफूले औपचारिक शिक्षा लिन नपाएको इखले उनमा सयौ बालबालिकालाइ शिक्षा दिलाउने भूत सवार भयो ।
आफू बाल्यकालमा राम्राे बातावरण नपाएको इखले उनमा भबिष्यमा बालबालिकालाइ राम्राे बातावरणमा राखेर गास, बास, कपासको आधारभूत आवश्यकता दिलाउने दृढता आयो । सडकमा बेसाहारा भएकी एक पहिचान बिहिन बालबालिकालाइ आफ्नै घरमा ल्याएर सुरु भएको उनको यो सपनामा आजसम्म दुइसय बढी बालबालिकाले आफ्नो भबिष्य बनाइसके ।
यो ‘चमत्कार’ सम्भब कसरी ?
समाजलाइ राम्रो गनै चाहनेहरु कहिल्यै एक्लो हुँदैनन् । अनि, कोसिस गर्नेहरु कहिल्यै हार्दैनन् । आफ्नो समाजसेवामा साथ दिने हातहरु क्रमश उनले पाउँदै गइन् । सात समुन्द्रपारीका देशबाट पनि उनको यो सत्कर्ममा हातेमालो गर्ने हितैशीहरु आए । सायद, मानिसलाइ भुगोलले भन्दाबढी साझा सपनाले एकैठाउँमा ठोकाउँछ ।
बिश्वचर्चित डा. सन्दुक रोइतले मसँगको एक भेटमा सर्बसूलव सुबिधा उपलब्ध गराउन सहयोग गर्नेलाइ सम्झदै भनेका थिए, ‘नेपालको दुर्गम भू-भागमा जन्मिएको म र बिकसित मुलुकका नागरिकको कालान्तरमा परोपकारका निम्ति भएको सहकार्यले मलाइ मानिस भुगोलभन्दा सपनाले एक हुन्छ भन्ने कुरामा बिश्वस्त बनायाे’ ।
नन्दा कुलूका सपनामा हात थामिदिने सन्दर्भमा पनि यहि लागुहुन्छ ।
उनले औपचारिक शिक्षा लिने अवसर नपाएपनि आफ्नो मिहिनेतले आधारभूत शिक्षामात्र नभएर अंग्रेजी, स्पेनिस लगायका भाषामा पोख्त भइन् । कि पढेर सिकिन्छ कि परेर भनेर यसैलाइ भनिएको होला ।
एक दशकबढी उनैको सहयोगले यहाँसम्मको मुकाम तयार गरेको मैले एक दिन उनलाइ सोधें ,’तपाइलाइ आफ्नो जीवन फर्केर हेर्दा कूतो लाग्छ आन्टी’ ?
उनी मुुसुक्क हाँसिन् अनि भनिन्, ‘बाबु, जहाँ पुगेपनि आफ्नो धरातल कहिल्यै बिर्सिनुहूुन्न ।आजपनि म जहाँकहिँ गएतापनि आफ्नो त्यो पीडादायी बाल्यकाल सबैलाइ सुनाउँछु किनकी हरेकपल्ट मेरो भोगाइ सुनेपश्चात उपस्थितमा नयाँ माहोल पाउँछु । कतिले भन्छन् – तपाइको कुरा सुनेर जीन्दगीका केहि नयाँ गर्ने साहस बढ्यो । यो सबै सुन्दा मलाइ आनन्द आउँछ अनि आफूलाइ अझ सकरात्मक काममा लाग्न प्रेरणा पाउँछु ।’
उनी बोलिरहिन् , ‘सबैभन्दा ठूलो कुरा जीन्दगीमा आउने कठिनाइसँग भाग्ने होइन डटेर सामाना गर्ने हो । आज मेरो प्रयासले तिमीहरुको जीन्दगीमा परिवर्तन ल्याउन सकेको छु । तिमीहरुले भबिष्यमा शिक्षा लिएर आफूले सकेको राम्रो काम गर्यौभने मेरो सपना झन् फैलिनेछ’ ।
आजभोली मलाइ लाग्छ, संसारलाइ चाहिने राम्रा काम सबै गर्न हामी नसकौला तर हामीले गर्ने सबै राम्रा काम संसारलाइ चाहिन्छ ।
नन्दा कुलुको मित्रता नेपालमा नर्सरीदेखि उच्च शिक्षा पढ्ने बिद्यार्थीहरु छन् ।
पढाइसँगै उनीहरुको जीवनमा आवश्यक सीपहरु बाल्यकालबाटै प्रदान गरिन्छ ताकी भबिष्यमा कुनै कठिनाइ नहोस् । पूर्वदखि पश्चीमसम्मका बेसाहारा बालबालिकालाइ एउटै छाताभित्र राखेर उनले आफ्नो तर्फबाट सकेको सत्कर्म गरिरहेकै छिन् ।
आजभन्दा ठाक्कै आठ बर्ष पहिले कान्तिपुरमा दोलखाको एकै परीवारका चार सदस्यकाे विचल्ली भएको समाचार प्रकासित भयो ।
सहानुभूती धेर्रले देखाए तर समाचार पढेलगतै त्यहाँ गइ स्थानियकाे रोहोवरमा ल्याइएका नेपाली भाषा बोल्नसम्म नजान्ने बालबालिका अहिले उच्चशिक्षा अध्ययनरत छन् । उनीहरुको जीवमा आएकाे परिवर्तन हेर्न लायक छ नै । उनीहरुले आफूजस्तैलाइ भबिष्यमा सकेको सहयोग गर्ने बताउँदा नन्दा कुलुमा देखिने सन्तोषको के कुरा ।
बिडम्बना, समाजसेवा मागिखाने भाँडो भएको छ आजभोली । बिदेशरीसँग अनेक बहाना बनाएर पैसा असुलेर आफ्नो दुनो सोझ्याउने प्रबृती बढेको छ । नियमकारी निकाय समाज कल्याण परिषद आँफै भष्ट्रचारको दलदलमा भएकाले राम्रोसँग अनुगमन हुन सकेको छैन । तर, यहि बहानामा राम्रा काम गर्न खोज्नेहरुलाइ पनि पाइला-पाइलामा अबरोध सिर्जना गरिदिने सरोवारकाला निकायको गैर जिम्मेवारीले दुरदराजका बालबालिकालाइ असर परिरहेको छ ।
देशको अस्थिर राजनीतिक अबस्था, राम्राे गर्न खोज्नेहरुक खुट्टा तान्ने प्रबृती हुँदापनि चुपचाप आफ्नो कर्म गरिरहने नन्दा कुलु र उनीजस्ता कयौंलाइ देख्दा लाग्छ ‘फलको आश नगरिकन निरन्तर सतकर्म गरिरहने मानिसले यो समाजको मानबता बचाइरहेछन् ।’
देशका बिभिन्न ठाउँमा रहेर आवाजबिहीन, पहुँचबिहीन बालबालिकाका निम्ति खटिरहने सबै सबैमा नमन ।
प्रतिक्रिया