गोरखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले सोचेअनुसार सरकारले काम गर्न नसकेको बताएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८, जराङमा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार भएको कार्यक्रममा प्रचण्डले आफूहरुले चुनावका बेला बाचा गरिएको कतिपय काम पनि गर्न नसकेको बताएका हुन्।
दुई तिहाइको बहुमतको सरकार भएको बेलामा नेपाली जनताले जुन गतिको साथ विकास होला, निर्माण होला, फटाफट काम होला, भ्रष्टहरुमाथि छिटोछिटो कारबाही होला, सुशासन होला भन्ने जति सोचेको हो सो अनुसारको काम हुन नसकेको प्रचण्डले बताए।

‘हामीले वृद्धभत्ता ५ हजार पुर्याउँछौं भनेका थियौं। बृद्ध बाआमालाई लागेको थियो, हाम्रो पार्टीले जित्यो भने महिनाको पाँच हजार भत्ता पुर्याउँछ। हामीले पनि कस्सिएरै भनेका थियौं, हामी ५ हजार पुर्याइ छाड्छौं’, उनले भने, ‘यो पटक पुर्याउन सकिएन। हामी छलफल गरिरहेका छौ। अब बनाउने बजेटमा हामीले यो पटक नसेकका कुराहरु जनताले देख्नेगरी, बुझ्नेगरी र भोग्नेगरी बजेटमा व्यवस्था हुनुपर्दछ,’ उनको भनाइ थियो।
जनताले अब आफ्नै सरकारजस्तो गरी काम भयो भन्ने गरी काम गर्ने विषयमा आफू र प्रधानमन्त्रीबीच कुरा चलिहरेको समेत उनले बताए।
प्रचण्डले सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानबिन आयोेगले काम गरेको भए पनि कछुवा गतिमा रहेका बताए ।
अब सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने उनले बताए । ‘त्यतिबेला युद्वद्वारा क्षति भएका परिवार, चाहे ती माओवादी हुन्, चाहे कांग्रेस हुन्, चाहे पुलिस सेना हुन्, चाहे अरु पार्टीका हुन्, सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो,’ उनले भने ।

मानवीय अपराधका केही प्रतिनिधिमूलक घटनामा भने दोषीलाई कारबाही पनि गरिने उनले बताए । ‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरुलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं’ उनले भने, ‘म शहीद, वेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ ।’
भिडियाे
प्रतिक्रिया