कास्की- क्यामरुनको डफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अाइतबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा डफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो।
खेलको ५४औँ मिनेटमा डफिन्सका यानिकले गरेको एकमात्र गोलनै टिमलाई उपाधि दिलाउन पर्याप्त भयो। उपाधि विजेता डफिन्सले रु सात लाख ५५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता भएको एपिफएले रु चार लाख पाँच हजार ५५५ मा चित्त बुझायो।
विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै एपिएफका गोलकिपर राजु नगरकोटीले एक थान मोटरसाइकल प्राप्त गर्न सफल भए।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा एपिएफका राजु दङ्गाल, फरवार्ड डफिन्सका यानिक, गोलकिपरमा एपिएफका राजु नगरकोटी, मिडफिल्डर मनाङका हेमन गुरुङ तथा उत्कृष्ट प्रशिक्षकमा एपिएफका राजेन्द्र तामाङ चुनिँदै जनही रु २५ हजार पुरस्कार तथा ट्रफी हात पारे।
प्रतिक्रिया