काठमाडौं– दोस्रो टी–२० खेलमा नेपलालाई युएईले १ सय ८ रनको लक्ष्य दिएको छ। दुबईको आइसिसी एकेडेमीमा टस जितर पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छदा १ सय ७ रनमा अलआउट भयो।
युएईका लागि ओपनिङ ब्याट्सम्यान सिपी रिजवानले सबैभन्दा बढी ४४ रनको योगदान गरे। १९ ओभरसम्म टिकेका उनले अभिनास बोहोराको बलमा आउट हुनुअघि ४३ बल खेलेर ४ चौका र १ छक्का हिर्काए।
घरेलु टिम युएईले पावर प्लेको ६ ओभरमा ४ विकेट गुमाएको थियो भने ३५ रन जोडेको थियो।
पावर प्लेमा नेपालका सन्दीप लामिछानेले छैटौं ओभरमा शइमान अनवारलाई १४ रनमा आउट गरेका थिए। लगत्तै उनले मोहमद उस्मानलाई डकआउट गरे। त्यसअघि सोमपालले ओपनर अस्फाक अहमेदलाई ४ रन र गुलाब सब्बारलाई ६ रनमा आउट गरे।
मोमहद बोताले ११ रन जोडे। अमिर हायतलाई ३ रन र कप्तान मोहमद नावीदलाई ७ रनमा अभिनास बोहोराले पेभिलियनको बाटो देखाए। सुल्तान अहमेद ४ रनमा रनआउटको सिकार बने।
बलिङमा नेपालका अभिनास बोहोराले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए।
नेपाललाई दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब छ। तीन खेलको टी–२० सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो। नेपाललाई सिरिज आफ्नो पक्षमा पार्न दोस्रो खेल जित्नै पर्ने दबाब छ।
प्रतिक्रिया