+
Search

ताजा अपडेट +

पपुलर +

सन्दीप जोराको विश्व कीर्तिमान, बने टी-२० मा अर्धशतक प्रहार गर्ने कान्छा ब्याट्सम्यान

4KNationalDaily
२०७५ माघ १७, बिहीबार २२:०२ बजे

काठमाडौं- नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बन्दै विश्व कीर्तिमान बनाउन सफल भएका छन्।

बिहीबार युएईविरुद्धको पहिलो टी-२० मा जोराले नटआउट ५३ रन प्रहार गर्दै रेकर्ड बनाएका हुन्। टी-२० मा नेपालका लागि बिहीबार नै डेब्यू गरेका उनले ४६ बल खेलेर ३ चौका र १ छक्का प्रहार गरे। बुधबार अर्धशतक प्रहार गर्दा जोरा १७ वर्ष १ सय ३ दिन उमेरका छन्।

जोराले कीर्तिमानी अर्धशतक प्रहार गरे पनि नेपाल २१ रनले पराजित भएको थियो। युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो।

खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ट्विट मार्फत जोरा टी-२० मा अर्धशतक बनाउने कान्छा खेलाडी भएको जनाएको छ।

यसअघि नेपालका रोहितकुमार पौडेल एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बनेका थिए।

रोहितले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्दा शाहिद अफ्रिदी र सचिन तोन्दुल्करको रेकर्ड तोड्न सफल भएका थिए। रोहितको अर्धशतकसँगै नेपालले दोस्रो एकदिवसीय खेल जित्दै सिरिज १-१ को बराबरी गर्न सफल भएको थियो।

तेस्रो एकदिवसीय खेलमा कप्तान पारस खड्काले शतक प्रहार गर्दा नेपालले जित निकालेर सिरिज २-१ जितेको थियो।

पहिलो पटक सिरिज जिताउने क्रममा पारसले हानेको शतक नेपालका लागि पहिलो एकदिवसीय शतक समेत थियो। युएई भ्रमणमा रहेको नेपालले अब २ टी-२० खेल खेल्न बाँकी छ। दोस्रो टी-२० शुक्रबार र तेस्रो टी-२० आइतबार हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily