काठमाडौं- कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै अन्तर्राष्ट्रिय एकदविसीय क्रिकेटमा सतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
उनले यूएईमा यूएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा सोमबार सतक पूरा गरेका हुन् ।
पारसको सतकको सहयोग नेपाल ऐतिहासिक जित नजिक पुगेको छ । २५५ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार पर्दासम्म ३५ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको छ ।
जितका लागि नेपाललाई अब ९० बलमा ५६ रनको आवश्यकता छ । क्रिजमा १०५ रन बनाएका पारस र आरिफ शेख छन् ।
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी ब्याटिंग शुरु गरेका थिए । मल्लले ३५ बलमा ३१ रन को योगदान दिए भने भण्डारीले १७ बल खेल्दै ९ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटमा २५४ रन बनायो । उसका लागि शाइमन अनवरले ८६ रन बनाए । यस्तै सीपी रिजवानले ४५ बनाए ।
यस्तै अन्तिममा ब्याटिंग गरेका मोहम्मद बुताले नेपाली बलिंग ध्वस्त बनाउँदै विस्फोटक अर्धसतक बनाएपछि उसले चुनौतीपूर्ण स्कोर बनायो ।
यूएईको दुबईस्थित आईसीसी एकेडमी मैदानमा जारी खेलमा यूएईका शुरुआती ब्याट्सम्यान नेपाली बलरका अगाडि खुलेर खेल्न सकेका थिएनन् ।
सोमपाल कामी र करण केसीले रन गतिमा अंकुश लगाउँदै विकेट लिएपछि दबाबमा परेको यूएईलाई साइमन अनवर र सीपी रिजवाले उकासेका थिए । यो जोडीबीच १०० रनको साझेदारी भएको थियो ।
प्रतिक्रिया