काठमाडौँ- गण्डकी प्रदेशले आफ्नो क्षेत्रका संरक्षित र पर्यटकीय क्षेत्रको व्यवस्थापन आफैंले गर्ने बताइरहँदा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को व्यवस्थापन फेरि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिने प्रस्ताव अघि बढेको छ ।
गण्डकी प्रदेशले गोरखाको एमक्यापसहित कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका १५ गाउँपालिकामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापन पनि आफैंले गर्न पाउनुपर्ने दाबी गरिरहेको छ। एमक्याप र एक्यापको व्यवस्थापन कोषले गर्दै आएको छ। ती दुवै संरक्षित क्षेत्रको पदयात्रामा जानेसँग कोषले प्रवेश शुल्क लिने गरेको छ।

दोस्रोपटक थपिएको एमक्यापको २० वर्षे अवधि पुस दोस्रो साता सकिएको छ भने एक्यापको म्याद अर्को वर्ष माघमा सकिनेछ। एमक्यापको व्यवस्थापन पुन: २० वर्ष थप्न कोषले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसमक्ष प्रस्ताव गरेको थियो।

विभाग महानिर्देशक मनबहादुर खडकाका अनुसार उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालय पुगेको छ। ‘कोषले फेरि पनि २० वर्ष थपका लागि आग्रह गरेको छ,’ उनले भने, ‘प्रस्ताव मन्त्रालय पठाएका छौं।’ पहिलोपटक १० र दोस्रोपटक २० वर्ष गरी कोषले ३० वर्ष मनास्लुको व्यवस्थापन गरेको छ। संघीयता कार्यान्वयनमा आएपछि भने गण्डकी प्रदेशले आफ्नो प्रदेशको स्रोतसाधन उपयोग तथा व्यवस्थापनको काम आफैंले गर्नुपर्ने जिकिर गर्दै आएको छ। संरक्षित क्षेत्रमा लिने गरिएको प्रवेश शुल्कको समेत स्थानीयले विरोध गर्दै आएका छन्।

वन मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले संरक्षित क्षेत्र प्रदेश र संघको साझा ‘क्लस्टर’ को विषय भएकाले प्रदेश एक्लैले मात्र त्यसको व्यवस्थापन निर्णय लिन नसक्ने टिप्पणी गरे। ‘संरक्षित क्षेत्र साझा अधिकारमा परेकाले एकल निर्णय सम्भव छैन,’ उनले भने।

चीनसँग सीमा जोडिएका साविकका ७ गाविस (चुमनुब्री गाउँपालिका) मा फैलिएको १६६३ वर्ग किमिको मनास्लु सन् १९९८ मा संरक्षण क्षेत्र घोषणा भएको हो। मनास्लुको चुम क्षेत्र सांस्कृतिक पहिचान र जैविक विविधताका हिसाबले प्रख्यात छ।

मनास्लुमा २ हजार प्रजातिका वनस्पति, ३३ प्रजातिका स्तनधारी, ११० प्रजातिका चरा, ३ प्रजातिका उभयचर, ११ प्रजातिका पुतली र ११ प्रजातिका वन छन्। हिमाल, हिमाली जनजीवन, संस्कृति, परम्परा, दुर्लभ वन्यजन्तु, चरालगायत जैविक विविधता अवलोकन गर्न पर्यटक लोभिने गरेका छन्। भूकम्पअघिसम्म मनास्लुमा पर्यटकको आगमन उल्लेख्य हुने गरेको थियो।
कान्तिपुर दैनिकबाट साभार
प्रतिक्रिया