गाेरखा- लोकप्रिय बन्दै गएको गोरखाको मनास्लु क्षेत्रमा एकबर्षयता सातहजार छसय ४० जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार सन् २०१८ सालमा अघिल्लो बर्षको तुलनामा भ्रमण गर्ने पर्यटकको संख्या १० प्रतिशतले वृद्धि भएको हो । सन् २०१७ मा सो क्षेत्रमा छ हजार नौसय २८ जना विदेशी पर्यटक पुगेका थिए ।
एमक्यापको अभिलेख अनुसार सन् १९९३ देखि अहिलेसम्म मनास्लु क्षेत्रमा ५२ हजार पाँचसय ८९ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा आउने पर्यटकमध्य सबैभन्दा धेरै जर्मन, फ्रान्सका पर्यटक धेरै छन् । सार्क राष्टूका पर्यटक भने जम्मा ८६ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका छन् ।
मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट एक करोड ६९ लाख ७१ हजार ५४० रुपैया राजस्व संकलन भएको एमक्यापले जनाएको छ । सो क्षेत्र प्रबेशका लागि सार्क राष्टूका पर्यटकले प्रतिब्यक्ति एक हजार, अन्य राष्टूका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने व्यबस्था छ । पर्यटकले काठमाण्डौको भृकुटि मण्डप, पोखराको ड्यामसाईड स्थित प्रबेश दस्तुर काउन्टरमा राजस्व संकलन गरेर मात्र मनास्लु क्षेत्रमा प्रवेश पाउँछन् । यदि राजस्व नतिरी पर्यटक आएमा एमक्यापको जगत र सामागाँउ स्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्यापले जनाएको छ ।
विभागले चुम र नुब्रीउपत्यका भ्रमण गर्न ८ दिनका लागि अनुमति दिने गर्छ । सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि प्रतिब्यक्ति ५० डलर र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति ७० डलर विभागमा बुझाउनुपर्नेछ । ८ दिनबाहेक थप दिन पर्यटक बस्न चाहेमा थप शुल्क बुझाउनुपर्ने व्यबस्था छ ।
धेरै पर्यटकको घुइँचो नहुने भएकाले मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको एमक्यापको विश्लेषण छ । ‘अन्नपूर्ण, सोलखुम्बुतिरजस्तो पर्यटकको भीड मनास्लुमा हुदैन, त्यसैले पर्यटकले मनास्लु रोज्ने गर्छन्’, एमक्यापका प्रमुख नरेन्द्र लामा भन्छन्, ‘मनास्लु क्षेत्रको पर्यटकीय महत्वका ठाउँको बारेमा राष्टिूय, अन्तर्राष्टिूय स्तरमा प्रचारप्रसार हुदै गएकाले पनि पर्यटकको संख्या बढेको हो ।’
मनास्लु क्षेत्रमा आउने पर्यटकले चुमभ्याली भ्रमण र लार्केपास गर्ने गरेका छन् । साथै ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पनि आरोहीहरु आउने गरेका छन् । त्यस्तै ५,२१३ मिटर अग्लो लार्केभञ्ज्याङ पार गर्न पनि पर्यटक आकर्षित हुने लामाको भनाइ छ । साहसिक पदयात्राका लागि पर्यटकले मनास्लु पदमार्ग रोज्ने उनले बताए । मनास्लु क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, वीरेन्द्रताल, कल्छुमानताल, सयौं बर्ष प्राचीन श्रृङ्गीगुम्बा, पुङ्ेगन गुम्बा, राजेनगुम्बा, म्हुगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यस्तै वुद्धधर्म, तिब्बती संस्कार, संस्कृति, मौलिक भेषभुषा, रहनसहनमा पर्यटक रमाउने गरेका पर्यटन ब्यबसायीहरु बताउने गर्छन् ।
गोरखाको आरुघाटबाट बुढीगण्डकीको किनारै किनार हुदै मनास्लु क्षेत्रसम्म पदमार्ग फैलिएको छ । कतिपय पर्यटक भने अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मनाङ हुदै पनि आउने एमक्यापले जनाएको छ । पछिल्लो समय मनास्लु क्षेत्रमा स्वदेशी पर्यटकको संख्या पनि बढिरहेको छ तर उनीहरुको तथ्यांक संकलन गर्ने व्यबस्था नभएकाले संख्या यकिन नभएको एमक्यापका प्रमुख लामाले बताए ।
उनले भने ‘नेपाली पनि सो क्षेत्र प्रबेशका लागि प्रतिब्यक्ति सय रुपैयाँ शुल्क लिनुपर्ने हो । तर ब्यबहारिक रुपमा शुल्क लिन सकिएको छैन ।’ पर्यटकलाई लक्षित गर्दै मनास्लु क्षेत्रमा स्तरीय होटल खुल्ने क्रम पनि बढेको छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको थियो ।
अनुपमा खनाल /दराैँदी दैनिकबाट
प्रतिक्रिया