+
Search

ताजा अपडेट +

पपुलर +

मनाङ पुनः शीर्ष स्थानमा, एपिएफ २–१ ले पराजित

4KNationalDaily
२०७५ मंसिर १२, बुधबार ०६:१२ बजे

काठमाडौं – अपराजित रहँदै साबिकको विजेता मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा मनाङ विभागीय टोली एपिएफलाई २–१ गोलले पराजित गर्दै शीर्ष स्थानमा पुनः फर्किएको हो।

मनाङलाई लगातार जित दिलाउनका लागि एडिलाजा सोमिदी र अञ्जन विष्टले एक–एक गोल गरे। १९औं मिनेटमा मनाङका एडिलाजाले विमल रानाले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै गोलको खाता खोलेका थिए। सुरुआतबाट नै रक्षात्मक खेलेको एपिएफले काउन्टरमा केही प्रयास गरेको थियो।

२७औं मिनेटमा नवीन लामाको कर्नर बल बाउन्स हुँदै मनाङका रक्षक मुहम्मेद आसिफको हातमा लागेपछि एपिएफले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा नवीनले नै गोल गर्दै मनाङको अग्रतालाई बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले सन्तुलित प्रदर्शन गरे पनि पहिलो हाफको अन्तिम मिनेटमा मनाङले पेनाल्टी पायो। मध्यभागबाट पाएको पासलाई कमल श्रेष्ठले क्रस दिँदा रोक्ने प्रयास गरेका सन्तोषकुमार कटुवालको हातमा लागेपछि मनाङले अग्रता लिने अवसर पाएको थियो। उक्त अवसरलाई स्ट्राइकर अञ्जन विष्टले कुनै गल्ती नगरी जाली चुमाएका थिए।

चौथो खेलमा पनि जित हात पारेको मनाङ स्पष्ट १२ अंकका साथ शीर्ष स्थानमा अटाउँदा चार खेलबाट दोस्रो पराजय भोगेको एपिएफ ४ अंकका साथ तालिकाको नवौं स्थानमा रहेकाे छ ।

यसअघि आठौं मिनेटमा कप्तान विराज महर्जनले प्रहार गरेको लामो फ्रिकिकलाई अञ्जनले हेडमार्फत प्रहार गरे पनि बल क्रसबारमाथिबाट बाहिरिएको थियो।

त्यस्तै २५औं मिनेटमा एपिएफका नवीन लामाले पेनाल्टी बक्सको दायाँ भागबाट दिएको वान टच बलमा युवराज खड्का सुदपयोग गर्न चुकेका थिए। युवराजको उक्त बल अकासिएको थियो।

पहिलो हाफमा अग्रता लिएको मनाङ दोस्रो हाफमा भने केही दबाबमा रह्यो। ५०औं मिनेटमा एपिएफका श्यामकुमार नेपालीले निकालेको सुनौलो पासलाई राजन गुरुङले सदुपयोग गर्न नसक्दा एपिएफ मनाङको अग्रतालाई छोट्याउन चुकेको थियो।

यद्यपि अन्तिम समयतिर थप गोलका लागि प्रयासरत मनाङका केही सुन्दर मौका विफल भएका थिए। इन्जुरी समयमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका मनाङका डोना थापाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको कडा बल क्रसबार नजिकैबाट बाहिरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily