+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे बिरूवाटारमा स्थानियकाे पहलमा स्थापना भयाे प्रहरी चाैकी

4KNationalDaily
२०७५ कार्तिक ७, बुधबार १८:५६ बजे

गाेरखा- पालुङटार नगरपालिका-७ च्याङ्ली विरुवाटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गोरखा र तनहूँ जिल्लाको सिमाना भए पनि प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले बारम्बार चौकी राख्न माग गर्दै आएका थिए ।

गाउँमा प्रहरी चौकी नहुँदा लागू औषध दुर्व्यसनीसँगै अपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो थियो । बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बिमल बस्नेतले बताए ।

प्रहरी पोष्टको मंगलवार एक कार्यक्रमका बीच गोरखा प्रहरी प्रमुख एसपी बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताए । पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले प्रहरी पोष्ट स्थापना भएसँगै शान्ति सुरक्षाको अनुभूति हुने बताइन् ।

प्रहरी चौकी स्थापना संगै अपराधिक गतिविधी कम हुने विश्वासमा स्थानीयहरु खुसी भएका छन् । यसअघि यस स्थानमा प्रहरी चौकी नहुँदा  इलाका प्रहरी ठाँटीपोखरी, तनुहँकाे डुम्रे ,नयाँपुल हुुँदै बिरुवाटारसम्म आइपुग्नुपर्दा स्थानीयहरु मर्कामा परेका थिए ।

अस्थायी प्रहरी चौकी उदघाटनको क्रममा पालुङ्टार नगरपालिकाकी उप प्रमुख पम्फा बसेल, वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, , इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक रोशनराज पाण्डेय लगायतका व्यक्तिहरुले चौकी स्थापनासंगै विकासको बाटो खुला भएको बताएका थिए ।

हाल १ बर्षका लागी पालुङ्टार नगरपालिका कार्यालयले भाडा तिर्ने गरी स्थानीय नवीन कुमार श्रेष्ठको घरमा चौकी स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै नगर उप प्रमुख पम्फा बसेलले चौकीलाई स्थायीमा परिणत गर्न सवै क्षेत्रबाट पहल गर्नुपर्ने बताइन्। सोही क्रममा अव न्यायिक समितिको कार्यसम्पादनमा पनि यस वडामा सहज हुने विश्वास व्यक्त गरीन् ।

वडाध्यक्ष श्रेष्ठले आफूहरुले चौकी स्थापनाको लागी धेरै अघिदेखि पहल गरेको र हाल चौकी स्थापना भएकोमा खुसी व्यक्त गरे। सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वस्नेतले प्रहरी चाैकिकाे स्थायित्वको लागी स्थानीयबासीहरु सजग हुनुपर्ने बताए ।

यस स्थानमा चौकी स्थापनाको लागी ३ महिनाअघि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय गोररखाका एस.पि. विमल वस्नेत लगायतकाको टोलीले स्थलगत अध्ययन गरी छिटै चौकी स्थापना गर्ने बचन दिएलगत्तै चौकीको लागी घरको व्यवस्था गरिएको थियो ।

हाल यस चौकीमा  अ.स.इ.को नेतृत्वमा ५ जना रहने र पछि आवश्यक परे अरु थप गरिने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज पाण्डेले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily