+
Search

ताजा अपडेट +

पपुलर +

पुनर्निर्माणका बाँकी काम सिध्याउन ६ खर्ब लाग्ने

4KNationalDaily
२०७५ भाद्र ३१, आईतवार २२:३९ बजे

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरु सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताएका हुन् ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । २०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ’,उनले भने ‘पुनर्निर्माणका कामहरु अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily