+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न

4KNationalDaily
२०७५ भाद्र २८, बिहीबार ०९:३३ बजे

गोरखा- नेपालकै ऐतिहासिक मनकामना मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भएको छ । २०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिर पुर्ननिर्माणको काम सकिएको मनकामना जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ जानकारी दिए ।

‘पुरात्वले गरेको स्टमेट अनुसार मन्दिर निर्माणको सकियो’ उनले भने ‘जिर्णोद्धारका लागि बनाइएको खट पनि झिकिसकेका छौ ।’ झण्डै १३ करोड लागतमा निर्माण भएको उक्त मन्दिरमा १८ किलो २०० ग्राम सुन खर्च भएको छ ।

‘सबै खर्च यकिन भइसकेको छैन’ उनले भने ‘अडिट गरेपछि मात्र थाहा हुन्छ हाम्रो अनुमानमा १२÷१३ करोड खर्च भएको छ ।’ जिर्णोद्धार समितिले वर्षेनी अडिट गरे पनि मन्दिर निर्माण सम्पन्न भएपछि एकमुस्ट अडिट गरेपछि खर्च विवरण सार्वजानिक गर्ने उनले बताए ।

मन्दिर निर्माण सम्पन्न भएपनि आँगनमा ढुङ्गा छाप्ने काम बाँकी रहेकाले अहिले नै भक्तजनका लागि भने खुल्ला गरिएको छैन् । ‘मन्दिर बाहेक बाहिरको काम बाँकी छ’ उनले भने ‘त्यो काम छिट्टै सकियो भने दशैबाट भक्तजनका लागि मन्दिर खुल्ला गर्ने सोच बनाएका छौ ।’ करिब ४ सय वर्ष पहिले बनेको उक्त मन्दिर परिसरमा छापिएको ढुङ्गा पनि पुरानो भएकाले नयाँ ढुङ्गा छाप्ने तयारी भईरहेको छ ।

आगनको भुइँमा छाप्नका लागि नुवाकोटबाट ढुङ्गा खरिद गरी ल्याए पनि कच्ची सडकमा यातायात सञ्चालन हुन नसक्दा मन्दिरसम्म ढुवानी हुन सकेको छैन । ‘ढुङ्गा ल्याएर तल राखेका छौ, यहाँ सम्म आउने बाटो सबै भत्किएको छ’ संयोजक श्रेष्ठले भने ‘ढुङ्गा ल्याउन सके आइतबार÷सोमबारबाटै छाप्ने काम सुरु हुन्छ ।’ कच्ची सडक मर्मतका लागि वडा कार्यालयसँग समन्वय गरिरहेको उनले बताए ।

मन्दिरको पछाडीपट्टिको टेवा पर्खाल निर्माणका लागि पुरात्वले स्टेमट तयार गरिरहेको छ । उक्त मन्दिरसँगै रहेको क्षेत्र बिकास समितिका भवन पनि भूकम्पले भत्काएको छ । मन्दिरका परेवा बस्ने घर पनि बनाउने काम पनि बाँकी रहेको संयोजक श्रेष्ठले बताए ।

‘परेवा बस्ने घर अत्यान्त जरुरी छ, नत्र भने परेवाले मन्दिरको छाना बसेर सबै फोहोर गरिदिन्छन’ उनले भने ‘क्षेत्रबिकास समितिको भवन लगायतका अन्य कुराहरु बन्दै गर्छन, हामी मन्दिर खुल्ला गर्छौं ।’

गत वर्ष नै निर्माण सम्पन्न गर्ने भनिएको उक्त मन्दिर भूकम्प, नाकाबन्दी, काठ अभाव लगायतका कारणले तोकिएको समय भन्दा झण्डै एक वर्ष ढिलो सम्पन्न भएको हो । नेपालकै ऐतिहासिक मनकामना मन्दिरमा दिनहुँ हजारौ भक्तजनहरुले पुजाआजा गर्ने र्छन् ।

अहिले मन्दिरको हातामा जस्ताले बारिएको प्रतिमा स्थलबाट पूजाआजा भइरहेको छ । नयाँ मन्दिरबाट पुजा सुरुचारु गरेपछि भक्तजनको चाप झनै बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily