+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री भन्छन् ‘सार्वजनिक पदधारण गरेका व्यक्तिको विवरण सार्वजनिक गर्दैछौ’

4KNationalDaily
२०७५ भाद्र २२, शुक्रबार २०:३६ बजे

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले गोपनियताको नाममा अपराधिक गतिविधिलाई संरक्षण गर्न सरकारले नदिने बताएका छन् ।

गृहमन्त्री थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति, शैक्षिक योग्यतालगायतका विवरण पारदर्शी हुने गरी सार्वजनिक गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए ।

शुक्रबार प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘वैयक्तिक गोपनियताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले सरकारले सार्वजनिक पदधारण गरेका व्यक्तिको विवरण सार्वजनिक गर्न तयारी गरेको समेत बताए ।

गृहमन्त्री थापाले सार्वजनिक र पारदर्शिताको माध्यामबाट मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउने सरकारले लक्ष्य लिएको पनि समितिलाई जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले विधेयकमाथि संशोधन प्रस्ताव राख्दै सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने प्रावधान विधेयकमा नआएको भन्दै सरकारको चर्को आलोचना समेत गरेका थिए ।

समितिका सदस्य एवम् निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदधारणा गरेका न्यायालयका व्यक्तिहरुको पनि सम्पत्ति लगायतका विवरण सार्वजनिक हुने गरी विधेयकमा संशोधन गर्न सरकारसँग माग गरे ।

सो विधेयकमाथि ९० वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । विधेयकमा गोपनियताको नाममा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका सार्वजनिक गर्नुपर्ने प्रावधान नसमेटेकोमा समितिका सदस्यहरुको आपत्ति छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily