पालुङटार- पर्यटकीय स्थल लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बन्ने भएको छ । प्रदेश सरकारले लिगलिग कोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम बनाउन लागेको हाे ।
मन्त्री गुरुङले लिगलिग कोट ऐतिहासिक स्थल भएको र पुरातात्विक हिसाबले पनि लिगलिग कोटको महत्व रहेको भन्दै लिग लिग कोट पर्यटकीय स्थल भएकोले पनि यसको संरक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपालको इतिहासको प्रारम्भ बिन्दु नै लिग लिग कोट रहेको र ऐतिहासिक स्थल भन्नु नै पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान भएको भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गर्दा यसको ऐतिहासिक महत्वलाई हेरेर ऐतिहासिक म्युजियम बनाउनको लागी एक करोड बजेट बिनियोजन गरेको उनकाे भनाई छ ।
यस म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहासको सम्बन्धमा तयार पारिएका ऐतिहासिक बिषय वस्तु पढ्न मिल्ने किसिमको म्युजिम निर्माण गर्ने र यस्ता बिषयलाई समेट्ने संरक्षण गर्ने प्रदेश सरकारकाे याेजना रहेकाे उनले बताए ।
लिग लिगमा निर्माण गर्न लागिएको म्युजियम लिग लिगको पुरातात्वीक सम्पादामा असर नपुग्ने गरी कोटको आसपासमा बनाईने र यस वर्षको बजेटमा म्युजियमको गुरु योजना तयार हुने भन्दै लागत स्टमेटको आधारमा आगामी वर्ष थप बजेट बिनियोजन गरी काम सुरु गर्ने उनको भनाई छ ।
सोहि अबसरमा उनले लिगलिग कोटलाई लक्षित गरेर चेपेघाट, लिग लिग कोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्मको ऐतिहासिक ट्रेकिङ मार्ग निर्माण गर्न सकिने बताए ।
उनले लिग लिग कोट आसपासका कोटहरु राइनास कोट, कोट गढी लागायतका कोटहरुको संरक्षण गरी त्यसका ऐतिहासिक विषय वस्तुलाई दर्शाउन सक्नु पर्ने र पालुङटार आसपासका क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।
एक फरक प्रसंगमा मन्त्री गुरुङले अहिले प्रदेश सरकारले गण्डकि प्रदेशका तीन वटा विमान स्थलहरु पालुङटार, मनाङ र ढोरपाटन विमान स्थलको सम्भाव्यता अध्ययन गर्नका लागी बजेट बिनियोजन गरेको र यस क्षेत्रका विमान स्थलको सम्भाव्यता अध्ययन गरेपछि आएको रिपोर्टको आधारमा विमान स्थल सञ्चालन हुने नहुने विषयको निर्णय त्यस पछि प्रदेश सरकारले गर्ने बताए।
प्रतिक्रिया