+
Search

ताजा अपडेट +

पपुलर +

पाँचऔँले तस्करर्लाइ तिन करोड जरिवना सहित जेल सजाय

4KNationalDaily
२०७५ जेष्ठ ३०, बुधबार २३:५८ बजे

गोरखा- अवैध रुपमा बहुमूल्य जडिबुटी पाँचऔँले ओसार पोसारमा संलग्नलाई जिल्ला अदालत गोरखाले जरिवानासहित एकवर्ष कैद सजाय सुनाएको छ ।

तस्करीमा संलग्न धार्चे–५ स्थित गुम्दाका ४९ वर्षका कमल गुरुङलाई तीन करोड ९० लाख ७६ हजार रुपैयाँ जरिवानासहित एक वर्ष कैदको सजाय सुनाएको हो।

जिल्ला न्यायधीश वसन्तराज पौडेलको एकल इजलासले पूर्पक्षका लागि थुनामै रहेका गुरुङलाई उक्त सजाय सुनाएको हो। गुरुङलाई वन ऐन २०४९ को दफा ४९ को घ बमोजिम फैसला सुनाइएको अदालतका सुजन श्रेष्ठले जानकारी दिए।

जिल्लाका उत्तरी भेगमा अबैध रुपमा पाँचऔँले संकलन गरी जिल्ला बाहिर लैजान लागेको अवस्थामा २०७४ असोज ३१ गते ७४ किलो पाँचऔँलेसहित गुरुङलाई आरुघाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिबन्धित जडिबुटी पाँचऔंले ओसारपसार गरेको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि १८ कार्तिकमा थुनामा राखेको थियो । उनीसँगै पक्राउ परेका बस चालक सपतबहादुर मगर भने ९ हजार धरौटीमा छुटेका थिए ।

वन कार्यालयले उनीहरुविरुद्ध १८ कार्तिकमा जिल्ला अदालत गोरखामा मुद्दा दायर गरेको थियो । १९ कार्तिकमा भएको थुनछेक आदेशमा गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने र मगरलाई ९ हजार धरौटीमा रिहा गर्ने फैसला भएको थियो ।

वन कार्यालयले बरामद गरिएको ७४ किलोग्राम पाँचऔंलेको बिगोको मूल्य १ करोड ९५ लाख ३८ हजार रुपैयाँ हुने ठहर गरेको थियो । एउटा पाँचऔंलेको सरकारी रोयल्टी रकम १ हजार रुपैयाँ रहेको छ ।

वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत एवम् घटनाका अनुसन्धान अधिकृत बालकुमार नेपालले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको माग दाबी गरिएको छ ।

प्रहरीले उनलाई एकलाख ९७ हजार थान पाँचऔंलेसहित पक्राउ गरेको थियो। अहिले अदालतबाट कार्यालयको मागदावी अनुसार नै फैसला भएको छ । गुरुङसँग बरामद गरिएको पाँचऔँले अहिले जिल्ला बन कार्यालयमा सुरक्षित छ ।

लोपोन्मुख भएकाले यसलाई वन ऐन अनुसार संकलन तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिए । लोपोन्मुख प्रजातिमा पर्ने भएकाले यसमा लोपोन्मुख प्रजातिहरुको अन्तरारिाष्ट्रय ऐन अर्थात साइटिस महासन्धि आकर्षण हुने पौडेलको भनाइ छ ।

प्रतिबन्धित हुनु अघि प्रतिगोटा पाँचऔंलेको एकहजार रुपियाँ राजस्व असुल गरिन्थ्यो । त्यसैका आधारमा वन कार्यायलले पक्राऊ परेका गुरुङ र मगरविरुद्ध झण्डै ४ करोड रुपैयाँ जरिवानाको मागदाबी गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

पाँचऔंले २ हजार ५ सयदेखि ३ हजार मिटर उचाइमा हुने लोपोन्मुख जडिबुटी अन्तर्गत पर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily