+
Search

ताजा अपडेट +

पपुलर +

७४ किलो प्रतिबन्धित जडीबुटी पाँच औले ओसारपसार गर्ने युवक थुनामा, ४ करोड जरिवाना माग

4KNationalDaily
२०७४ कार्तिक १८, शनिबार २०:५० बजे

गोरखा– प्रतिबन्धित जडीबुटी पाँचऔंलेको ओसारपसारको आरोपमा पक्राऊ परेका गोरखाको आरुघाट गाउँपालिकाका कमल गुरुङ पुर्पक्षका लागि थुनामा परेका छन् ।

उनीसँगै पक्राउ परेका बसका चालक शपथबहादुर मगर भने धरौटीमा छुटेका छन् । गएको असोज ३१ गते ७४ किलोग्राम प्रतिबन्धित जडीबुटी पाँचऔंले सहित गुरुङ र मगरलाई इलाका प्रहरी कार्यालय आरुघाटले पक्राऊ गरेको थियो ।

ओसारपसारमा संलग्न भएका आरुघाट गाउँपालिका–९, चाँपपानीका गुरुङ र प्रयोग भएको बसका चालक मगरलाई प्रहरीले जिल्ला वन कार्यालय गोरखाको जिम्मा लगाएको थियो ।

वन कार्यालयले उनीहरुविरुद्ध बिहीबार जिल्ला अदालत गोरखामा मुद्दा दायर गरेको थियो । शुक्रवार भएको थुनछेक आदेशमा गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने र मगरलाई ९ हजार धरौटीमा रिहा गर्ने फैसला भएको जिल्ला न्यायाधीश वसन्तराज पौडेलले बताए ।

वन कार्यालयले बरामद गरिएको ७४ किलोग्राम पाँचऔंलेको बिगोको मूल्य १ करोड ९५ लाख ३८ हजार रुपैयाँ हुने ठहर गरेको छ । एउटा पाँचऔंलेको सरकारी रोयल्टी रकम १ हजार रुपैयाँ रहेको छ ।

वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत एवम् घटनाका अनुसन्धान अधिकृत बालकुमार नेपालले जिल्ला अदालतमा दायर गरेको मुद्रामा उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको मागवादी गरिएको छ । पाँचऔंले २ हजार ५ सयदेखि ३ हजार मिटर उचाइमा हुने लोपोन्मुख जडीबुटी अन्तर्गत पर्छ ।

लोपोन्मुख भएकाले यसलाई वन ऐन अनुसार सङ्कलन तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिए । लोपोन्मुख प्रजातिमा पर्ने भएकाले यसमा लोपोन्मुख प्रजातिहरूको अन्तर्राष्ट्रिय ऐन अर्थात् साइटिस महासन्धि आकर्षण हुने पौडेलको भनाइ छ ।

प्रतिबन्धित हुनु अघि प्रतिगोटा पाँचऔंलेको एक हजार रुपियाँ राजस्व असुल गरिन्थ्यो । त्यसैका आधारमा वन कार्यालयले पक्राऊ परेका गुरुङ र मगरविरुद्ध झन्डै ४ करोड रुपैयाँ जरिवानाको माग दाबी गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily